सुर्खेत-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको हवाई भाडा घटाएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो।सुर्खेत-काठमाडौं साविकको भाडा दर भन्दा ४८५ रुपैयाँले घटेको छ।
न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपियाँसम्मले घटेको हवाई भाडा दर बुधबारदेखि लागु हुने छ।
नयाँ हवाई भाडा दर अनुसार सबैभन्दाबढी विराटनगर–नेपालगन्ज सेक्टरको हवाई भाडा ७५० रुपैयाँले घटेको छ। यो सँगै यस तर्फको रुटमा सात हजार ३०५ रुपियाँ भाडा दर कायम भएको छ।
नयाँ मूल्य सूची अनुसार सबैभन्दा कम काठमाडौँ–सिमराको हवाई भाडा १२५ रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँ तोकिएको छ।
त्यस्तै यसअघि दुई हजार ३८० रुपैयाँ रहेको काठमाडौँ–पोखराको नयाँ भाडा दुई हजार १५५ रुपैयाँ तोकिएको छ।प्राधिकरणका अनुसार काठमाडौँबाट माउन्टेन फ्लाइट ४८५ रुपियाँले घटेर चार हजार ६६५ रुपैयाँ तोकिएको छ।
काठमाडौँबाट विराटनगरको ३३५,जनकपुरको १८०,भरतपुर १५०,पोखराको २२५,भैरहवा २८५, नेपालगन्ज ४५५,तुम्लिङटार २६०, सुर्खेतको ४८५, भद्रपुरको ४२० र राजविराजको हवाई भाडा २८५ रुपैयाँले घटेको छ।
त्यस्तै पोखराबाट भरतपुरको हवाई भाडा १५५, भैरहवाको १८०, सिमराको ३१०, नेपालगञ्जको ३३०, विराटनगरको पाँच सय, जनकपुरको ३६५, भद्रपुरको ५७०,धनगढीको ४७५ र माउन्टेन फ्लाइटको ४४० रुपैयाँ कम भएको स्रोतले जनाएको छ ।