जापानव्यापी निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक, बिमान किराती प्रथम
कुमामोतो/ जापान
जापानव्यापी खुल्ला निबन्ध प्रतियोगितामा किराती प्रथम भएका छन् । आयोजक गैरआवासीय नेपाली संघ (एनआरएनए क्युस्यु) ले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार गुन्मा केनबाट किराती ३२ प्रतिस्पर्धीलाई उछिन्दै प्रथम भएका हुन् । यसैगरी फुकुओका केनबाट बिनोद पौडेल द्वितीय, ओइता केनबाट प्रशान्त गुरुङ तृतीय भए भने चौथो भई सान्त्वना पुरस्कार विजेता साइतामा के बाट कृष्ण शिशिर भण्डारीलाई रहेका छन् ।
प्रथम भएका किरातीले ७५ हजार येन, द्वितीय पौडेलले ४५ हजार येन, तृतीय गुरुङले २० हजार येन र सान्त्वना भण्डारीले १० हजार येन पुरस्कार पाएका छन् । जापानमा उच्च शिक्षामा अध्ययनरत विद्यार्थी रोजगार र व्यवसायमा आबद्ध गैरआवासीय नेपालीहरुमा लुकेको साहित्यिक प्रतिभा प्रस्फुटन गर्ने मूल उद्देश्यका साथ ‘मैले चिनेको र चाहेको एनआररएनए’ विषयमा प्रतियोगिता आयोजना गरिएको हो ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा एनआरएनए क्युस्युद्वारा आयोजित निबन्ध प्रतियोगिताका लागि सफल व्यवसायी, समाजसेवी एवं गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसी निवर्तमान सदस्य टंक गैरेले सम्पूर्ण पुरस्कार राशि प्रायोजन गरेका थिए । २०२१/०७/१६ बाट २०२१/०८/१० सम्म जापानभरीबाट ३२ वटा निबन्ध संकलन भएको थियो । निर्णायकको भूमिकामा प्रकाश पौडेल (माइला) अनेसास केन्द्रीय कार्यसमिति अध्यक्ष, प्रकाश न्यौपाने, नेपाल सरकार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय शाखा अधिकृत, हरिप्रसाद देवकोटा उपप्राध्यापक कुमामोतो विश्व विद्यालय, कुमामोतो रहेका थिए ।
नतिजा घोषणा कार्यक्रममा प्रमुख अतिथि एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल, विशेष अतिथिहरु एनआरएनए आईसीसी निवर्तमान सदस्य एवं प्रायोजक टंक गैरे, हाम्रो नेपाल हामी नेपाली अभियान प्रमुख संयोजक धर्मराज अधिकारी, एनआरएनए आईसीसी सदस्य लक्ष्मण बानियाँ, एनआरएनए आईसीसी सदस्य सुपेन्द्र घिसिङ्ग, एनआरएनए जापान क्युस्यु पूर्वसंयोजक किरण बर्मा, नेसाज सल्लाहकार नरेन्द्र बस्नेत, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबका निवर्तमान अध्यक्ष सन्तोष थापा, एनआरएनए जापान सचिव देवराज उप्रेती, एनआरएनए सदस्य हेमा पाण्डे, प्रकाश लामिछाने, मोहन सिंह मडै, फुकुओका बाणिज्य दूतावास सेक्रेटरी दिपक देवकोटा, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जापान शाखा वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम सिग्देल, एनआरएनए क्युस्यु सल्लाहकार कृष्ण खरेल, फुकुओका नेपाल सोसाइटी अध्यक्ष माधव सिग्देल, लायन्स क्लब ३२५ A२ अन्तर्गत जोन चिएअर पर्सन ज्योति केसी, एनआरएनए क्युस्यु सल्लाहकार सुन्दरमणि रेग्मी, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब शंकर केसी, नेफिन क्युस्यु अध्यक्ष रोसनकुमार राईलगायत एनआरएनए जापानका क्षेत्रीय कार्यसमितिका संयोजक तथा कार्यसमिति एवं पत्रकारहरुको उपस्थिति थियो ।
एनआरएनए क्युस्युका संयोजक अर्जुन थापाले निबन्ध प्रतियोगीताले एनआरएनएको बारेमा बौद्धिक बहस एवं चिन्तनको सुरुवात भएको महसुस भएको बताएका छन् । उनले प्राप्त निबन्धलाई दस्ताबेजको रुपमा राखी सबैलाई उपलब्ध गराउने जानकारी गराए । सक्रिय सहभागिता, सुझाव सल्लाहले एकदम उत्साहित भएको बताउँदै उनले आगामी दिनहरुमा पनि यस्तै साथ एवं सहयोग रहने अपेक्षा राखे ।